[0:00]आदरणीय अध्यक्ष महोदय नेपाली कांग्रेसको तर्फबाट समानुपातिक उमेदवार साथीहरु आदरणीय राधा घले ज्यू आदरणीय राजु श्रेष्ठ ज्यू आदरणीय दिव्य मणि राज भण्डारी ज्यू नेपाली कांग्रेसका यो मंचमा आसीन सम्पूर्ण आदरणीय नेतागण वरिष्ठ कलाकार निशा लगायत यो कार्यक्रममा हामीलाई हाम्रो हौसला बढाउन आउनु भएका कलाकार साथीहरु यहाँ उपस्थित बुवामुवा दाजुभाइ दिदीबहिनीहरु मेरो युवा साथीहरुमा मेरो हार्दिक अभिवादन नमस्कार जय नेपाल म श्रद्धामन सम्पूर्ण ज्ञात अज्ञात सहिदहरु प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्न चाहन्छु। संविधान सभाको निर्वाचनको लागि हामीले कार्तिक २७ गते नेपाली कांग्रेसको तर्फबाट मनोनयन पत्र दर्ता गराए पश्चात आज ४५ औं दिनमा हामी हाम्रो निर्वाचनको प्रचार प्रसारको अभियानलाई बिट मार्ने क्रममा छौं। यो ४५ दिनको अभियानको क्रममा मलाई साथ दिनुहुने नेपाली कांग्रेसलाई साथ दिनुहुने पार्टीका सम्पूर्ण साथीहरुलाई म हृदयबाटै धन्यवाद दिन चाहन्छु। पार्टीका साथीहरु मात्र होइन यो अभियानमा हामीलाई ९२ वर्षको हजुरआमाले पनि साथ दिनु भएको छ। नानी च्याप्दै गर्नु भएका आमाहरु पनि हामीसँग सँगै अभियानमा कुद्नु भएको छ। ह्विलचेयरमा हिँड्नु पर्ने साथीहरु पनि हामीसँग सँगै कुद्नु भएको छ। दलित साथीहरु आउनु भएको छ। श्रमिक साथीहरु आउनु भएको छ। किसान र मजदुर साथीहरुले हामीलाई साथ दिनु भएको छ। रोजगारी नपाएका साथीहरुले पनि साथ दिनु भएको छ। रोजगारी सिर्जना गर्ने साथीहरुले पनि साथ दिनु भएको छ। म तपाईहरु सबै प्रति कृतज्ञता ज्ञापन गर्न चाहन्छु। कसैले एक कदम हिँडेर साथ दिनु भयो। कसैले सय कदम हिँडेर साथ दिनु भयो। कसैले घरको आगनमा फुलले स्वागत गरेर साथ दिनु भयो। कसैले झ्यालबाट हात हल्लाएर भएपनि साथ दिनु भयो। म तपाई सबै साथ दिनेहरुलाई फेरी एकचोटि अभिवादन गर्न चाहन्छु। म यो ४५ दिनको क्रममा तपाईहरु सबैको घर दैलोमा आउने प्रयास मैले गरे। तर चाहदा चाहदै पनि समयको कारणले गर्दा कतिपय साथीहरुको घर दैलोमा हामी आउन सकेनौं। म यसका निम्ति क्षमा माग्न चाहन्छु। तर यो प्रारम्भ मात्रै हो। निर्वाचनको परिणाम पश्चात त्यो परिणामले हामीले हामीलाई तपाईको घर दैलोमा पटक पटक आउने अवस्था सिर्जना गर्छ भन्ने विश्वास पनि व्यक्त गर्न चाहन्छु। तर यो भन्दै गर्दा यो कुरा पनि तपाईहरुको बीचमा राख्न चाहन्छु। निर्वाचनको परिणाम मेरो पक्षमा आउला नआउला कांग्रेसको पक्षमा आउला नआउला। तर नेपाली कांग्रेस सदैव तपाईसँग रहन्छ। तपाईको बीचमा रहन्छ भन्ने संकल्प पनि तपाईहरुको बीचमा हामी राख्न चाहन्छु। आदरणीय साथीहरु निर्वाचनको क्रममा मत माग्न जाने क्रममा यो क्षेत्रका मतदाताहरुका बीचमा बासिन्दाहरुका बीचमा जाँदै गर्दा मैले स्पष्ट सँग देखे। तपाईहरुसँग थुप्रै प्रश्नहरु भएको देखे। तपाईहरुसँग थुप्रै चिन्ता चासो आग्रह र गुनासोहरु भएको देखे। आक्रोश भएको देखे। यी सबै जायज कुराहरु नै हुन्। तर यो सँगसँगै तपाईसँग केही आशा पनि भएको देखे। अनि मैले मैले बुझे यो हामी सबै नेपालीको विशेषता हो। क्षेत्र नम्बर चारको मात्र होइन। हामी दुखका बीचमा पनि सुख आउँछ भनेर, अँध्यारोको बीचमा पनि उज्यालो आउँछ भन्ने आशाले सदैव त्यसले बाँधिएर बाँच्ने कुरामा अभ्यस्त भएका नेपालीहरु हौं। म तपाईहरुलाई आग्रह गर्न चाहन्छु। तपाईहरुले बाल्नु भएको हामी सबैले मिलेर बालेको आशाको दियोमा तपाई केवल तेल हाल्दिने काम मात्र गर्नुस्। जस्तो सुकै हावा र हुण्डरीबाट तपाईले बालेको आँसुको दियोलाई बचाउने संकल्प नेपाली कांग्रेस गर्छ म तपाईहरुको बीचमा गर्न चाहन्छु। आदरणीय साथीहरु हामी नेपालको विगतको बारेमा चर्चा गर्दै गर्दा २०४७ साल भन्दा अगाडिको विगतलाई एउटा छुट्टै आँखाले हेर्ने गर्छु। २०४७ साल पश्चात नेपालमा नयाँ अध्याय प्रारम्भ भएको छ। नेपाली कांग्रेस आज गौरवको साथमा २०४७ सालको त्यो आन्दोलनलाई स्मरण गर्न चाहन्छु। आफ्ना सबै योद्धालाई स्मरण गर्न चाहन्छु। तर यो स्मरण गर्दै गर्दा सचेत मतदाताहरुका बीचमा यो कुरा पनि राख्न चाहन्छु। २०४७ सालबाट प्रारम्भ भएको नेपालको लोकतन्त्रको त्यो यात्रा सुरु भएको त्यो अध्याय पटक पटक अवरुद्ध नभएको भए आज २०७० सालमा हामी संविधान सभाबाट संविधान बनाउनका लागि जुट्नु पर्ने अवस्था आउँदैनथ्यो। हामी नेपालको विकासको कुरा गर्ने गर्छौं। नेपाल पटक पटक चाहदा चाहदै पनि अगाडी बढ्न नसकेको कुरा गर्ने गर्छौं। नेपालसँग क्षमता हुँदा हुँदै पनि नेपालले आफ्नो क्षमताको प्रयोग गर्न नसकेको कुरा गर्छौं। तर यसको कारणका बारेमा हामी मात्र चिन्तन गर्ने गर्छौं। २०४७ सालको आन्दोलन पश्चात २०१५ सालमा २०१४ सालमा संविधान बन्यो। १५ सालमा नेपाली कांग्रेसले पहिलो जननिर्वाचित सरकार बनायो। त्यही संविधानका आधारमा नेपालले लोकतन्त्रको अभ्यास गर्दै गरेको भए सायद आज गणतन्त्र नेपालमा होइन। नेपालमा नर्वेको जस्तै बेलायतको जस्तै जापानको जस्तै राजसंस्था रहेको पनि हुन्थ्यो होला। सायद आज हामी त्यही संविधानका आधारमा त्यही संविधानको जगमा टेकेर विकासको नयाँ चरणमा प्रवेश गरिसकेका पनि हुन्थ्यौँ होला। तर नेपालमा हामीले बनाएको संविधान पनि रहन सकेन। हामीले स्थापित गरेको लोकतन्त्र पनि दिगो हुन सकेन। कहिले दाहिने कोणबाट लोकतन्त्र माथि प्रहार भयो। कहिले देब्रे कोणबाट लोकतन्त्र माथि प्रहार भयो। मलाई अहिले पनि एउटा डर लागिरहेको छ। फेरी एकपटक त्यही कुरा दोहोरिन खोजिदै छ। दोहोर्याउन खोजिदै छ। दाहिने तिरबाट हेर्यौ भने धर्मको नाममा त्यही लोकतन्त्र माथि प्रहार गरिदैछ। देब्रे तिर हेर्यौ भने जातको नाममा फेरी त्यही लोकतन्त्र माथि प्रहार गरिदैछ। हामीले एकपटक अवसर पायौँ संविधान सभाको। अवसरलाई प्रयोग गर्न सकेनौं। दोहोर्याएर अवसर पाएका छौँ। कहिँ पनि दोहोर्याएर संविधानसभाको निर्वाचन भएर सफलता प्राप्त गरिएको छैन। हामी नेपालमा गर्न खोज्दै छौँ। तर यो संविधान सभालाई सफल भयो भने धर्मको नाममा जातको नाममा खोल ओढेर आउने शक्तिहरु संविधानसभा भित्र उनीहरुको हालि मुहालि चल्यो र संविधानसभा असफल भयो भने नेपालले लोकतन्त्र गुमाउने मात्र होइन। यो पटक नेपालले लोकतन्त्र मात्र गुमाउँदैन। हामी सबैको दुर्भाग्य नेपालले त्यो यो बेलामा आफूलाई जोगाउन सकेन। आफ्नो राजनीतिक उपलब्धि जोगाउन सकेन भने हामीले चाहँदा नचाहँदै पनि नेपाल विदेशी शक्तिहरुको क्रीडास्थल बन्न बाध्य हुन्छ र त्यो बेलामा त्यसको मूल्य हामी सबै चुकाउन बाध्य हुन्छौं। त्यसैले म तपाईहरुसँग आग्रह गर्न चाहन्छु। हामीले संविधानसभाको एउटा अवसर पाएका छौँ। यो संविधान सभा ६२ ६३ को आन्दोलन सँग मात्र होइन २०४७ सालको आन्दोलन सँग जोडिएको छ। यो माटोमा भएको प्रत्येक आन्दोलन सँग जोडिएको छ। यो संविधान सभाबाट अब एक वर्ष भित्रमा संविधान निर्माण गरिसके पश्चात यो संविधानको चक्रव्यूहबाट नेपाललाई बाहिर निकाल्न आवश्यक छ। ४७ सालमा जित्ने ५७ सालमा हार्ने ४६ सालमा जित्ने अनि ५९ सालमा हार्ने ६२ सालमा जित्ने फेरी ७१ सालमा हार्ने अनि ८० सालमा जित्ने ९० सालमा हार्ने प्रत्येक पुस्ताले संघर्ष गर्ने बाजेलाई सोध्छु के गर्नु भयो लोकतन्त्रका निम्ति लडे। बालाई सोध्छु के गर्नु भयो लोकतन्त्रका निम्ति लडे। म लोकतन्त्रका निम्ति लडे तपाईं लोकतन्त्रका निम्ति लड्नु भयो। अनि हाम्रो भाइबहिनीहरु प्रत्येक नेपालको पुस्ता केवल लोकतन्त्रका निम्ति मात्र लड्दै जाने कहिले पनि आन्दोलनको उपलब्धिलाई जोगाउन नसक्ने हो भने यो दुर्भाग्यले नेपाललाई छाड्दैन। त्यसैले यो पटक जय र पराजयको चक्रव्यूहबाट नेपाललाई बाहिर निकाल्नु पर्छ। हामीले जित्नु पर्छ। सिंगो नेपालले आन्दोलनको उपलब्धिलाई जोगाएर जित्न आवश्यक छ र यसको एउटै उपाय संविधान सभाबाट संविधान बनाऔँ। एक वर्ष भित्र बनाऔं। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान बनाऔँ। यो एक वर्ष भित्र संविधान बनाउने यो दायित्व कसले बोक्छ? यो दायित्व बोक्न को तयार छ? यो दायित्व बोक्न नेपाली कांग्रेस तयार छ। तपाईहरुलाई साक्षी राखेर कांग्रेस भन्न चाहन्छु। हामी एक वर्ष भित्रमा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान दिनेछौं। केवल एक वर्ष भित्रमा हाम्रो दावीको आधार छ। गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा संविधान सभाको निर्वाचन गराउँदै गर्दाको कुरालाई हामी स्मरण गराउन चाहन्छु। कृष्ण प्रसाद भट्टराईको नेतृत्वमा एक वर्ष भन्दा कम समयमा संविधान बनाएको कुरालाई स्मरण गर्न चाहन्छु र हामी तपाईहरुको बीचमा भन्न चाहन्छु। यो संविधान सभा भित्र कांग्रेस मात्र हुदैन। अरु सबै दलहरु रहन्छन्। ती सबै दलहरुको बीचमा समझदारी गर्ने मात्र होइन। संविधान सभाको बहिस्कार गरेर बसेका दलहरु सँग समेत पनि संवादको ढोका खोल्दै कांग्रेसले ती शक्तिहरुलाई पनि संविधान सभाबाट बनेको संविधानको दायरा भित्र लिएर आउन सक्ने क्षमता राख्छ। हामी तपाईहरुको बीचमा यो संकल्प गर्न चाहन्छु। संविधान बनाउँदै गर्दा संविधान बन्ने कुरा मात्र होइन। यो संविधान हामी सबैलाई स्वीकार्य हुने गरीकन बन्न पनि त्यतिकै आवश्यक छ। संविधान हाम्रो पनि हुनुपर्छ। संविधान राम्रो पनि हुनुपर्छ। यो संविधान बन्दै गर्दा कुनै एउटा नेपालीले हारेको अनुभूति गर्यो भने संविधान बने पनि त्यसले काम गर्न सक्दैन। त्यसले फेरी एउटा हिंसा र प्रतिहिंसाको नयाँ चरणमा नयाँ श्रृंखलामा नेपाललाई लिएर जान्छ। त्यो चक्रव्यूहमा नेपाल नपरोस भनेर जोगाउने हो भने यो संविधान बनिसके पश्चात प्रत्येक नेपालीले त्यो संविधान भित्र आफूलाई देख्न पाउनु पर्छ। त्यो संविधान भित्र आफूले जितेको अनुभूति गर्न पाउनु पर्छ। त्यो अक्षरले आफ्नो भावनालाई बोकेको र बोलेको अनुभूति गर्न पाउनु पर्छ। यो कसरी हुन सक्दछ? यो संविधान भित्र जनै लगाउने जित्दै गर्दा जनै नलगाउने हार्यो भने पुरुष जित्दै गर्दा महिला हार्यो भने गैरदलित जित्दै गर्दा दलित हार्यो भने अनि क्षेत्रीय र ब्रामण जित्दै गर्दा राई र लिम्बु हार्यो क्षेत्रीय र ब्रामण हार्दै गर्दाखेरि मगर र तामाङ जित्यो भने संविधानले काम गर्दैन। रोजगारी दिनेले जित्दै गर्दा श्रमिक हार्यो भने अनि मजदुरले जित्दै गर्दा रोजगारी सिर्जना गर्ने हार्यो भने पनि यो संविधानले काम गर्दैन। यो संविधान प्रतिशोधका आधारमा लेखेर काम हुँदैन। घृणाका आधारमा संविधानका धारहरु लेख्न खोज्यौँ भने त्यो संविधानले नेपाललाई जोड्दैन। नेपाललाई जोड्ने संविधान चाहिएको छ। हामी नेपालीलाई एकताबद्ध गर्ने संविधान चाहिएको छ। र जब हामी एकताको कुरा गर्छौं। हामी सद्भावको कुरा गर्छौं। एउटा कुरा बिर्सन हुँदैन र कांग्रेस बिर्सन चाहन्न। अधिकार बिना सद्भाव हुँदैन। सद्भाव बिना एकता हुँदैन। अनि एकता बिना शक्ति हुँदैन। हामी अधिकार सहितको सद्भावको कुरा गरिरहेका छौं। प्रत्येक नेपालीलाई अधिकार। नेपाल भित्रको प्रत्येक भाषालाई अधिकार, प्रत्येक जातिलाई अधिकार, प्रत्येक संस्कृतिलाई अधिकार, प्रत्येक नेपालीलाई आफूले अधिकार सम्पन्न भएको संविधानबाट अनुभूत गर्न पाए भने मात्रै त्यो संविधानले काम गर्न सक्दछ। त्यसैले आदरणीय साथीहरु नेपाली कांग्रेस तपाईको बीचमा यो संकल्प राख्दै गर्दा यो यो यो कुरामा पनि सचेत छ र हेक्का राख्दछ। तपाईं सँग प्रश्नहरु पनि हुन सक्छ। त्यसो भए देखि आज यो कुरा गर्ने कांग्रेसले अघिल्लो संविधान सभाबाट संविधान किन बनाए। अघि कांग्रेसका महामन्त्री प्रकाश मान सिंहले भनेर गइसक्नु भएको छ। यो भन्दा अघिल्लो संविधान सभामा नेपाली कांग्रेस केवल ३७ ठाउँबाट मात्रै निर्वाचित भयो। हामी केवल ११४ जना मात्रै संविधान सभा भित्र थियौँ। हामीले चाहेर संविधान लेख्न सक्दैन थियौँ। हामी सँग संख्याको ताकत थिएन। माओवादीले लेख्न खोजेको अलोक अलोकतान्त्रिक शक्तिलाई रोक्यौँ। अलोकतान्त्रिक संविधानलाई रोक्यौँ। तर हामीले चाहेको लोकतान्त्रिक संविधान हामीले लेख्न सकेनौं किनकि हामीसँग संख्याको ताकत थिएन। आदरणीय साथीहरु माओवादी साथीहरुले पटक पटक भन्नु भयो। संविधान सभा हाम्रो बालक जस्तो हो। हिजो मात्रै यही ठाउँको यही मंचमा उभिएर भन्नु भयो। केवल माओवादीले मात्रै संविधानसभालाई जोगाउन चाह्यो। म यही ठाउँबाट तपाईहरुको बीचमा राख्न चाहन्छु। सदैव मेरो बच्चा हो मेरो बालक हो। हामीले जन्माएको हामीले हुर्काएको भनेर भन्ने माओवादीका नेताहरुलाई हामीले संविधानसभा विघटन गर्ने बेलामा एउटा कथा सुनाएका थियौँ। त्यो कथा म तपाईहरुको बीचमा दोहोर्याउन चाहन्छु। एउटा गाउँमा एउटै बालकलाई दुईटा महिलाहरुले मेरो छोरा हो भनेर दावी गरिसके पछाडी मेरो र तेरो मेरो छोरा मेरो छोरा भनेर तानातान गरिसके पछाडी जब कसको छोरा हो भनेर छुट्ट्याउन नसके पश्चात गाउँलेहरुले एकजना त्यही ठाउँको स्थानीय न्यायाधीशकोमा लिएर गएर यो कसको छोरा हो भनेर छुट्ट्याइदिनु पर्यो भनेर आग्रह गरिसके पश्चात न्यायाधीशले दुवैको तर्कहरु सुनिसके पश्चात निर्णय सुनाए। यो कसको छोरा हो भनेर छुट्ट्याउन नसकेको हुनाले गर्दा दुइटै महिलाले आधा आधा बाँडेर लिएर जानु भन्ने सुनाइसके पश्चात नक्कली आमाले भनिन हुन्छ। सक्खाली आमाले उठेर भनिन मलाई यो छोरा चाहिँदैन बरु अर्कोले लिएर गए हुन्छ। आदरणीय साथीहरु संविधान सभा विघटन गर्दै गर्दा हामीले भन्यौ यो संविधान सभा जोगाउन सकिन्छ। तर संविधान सभाको नक्कली आमाले भन्यो संविधान सभा गए जावस। संविधान सभा डुबे डुबोस्। संविधान सभा जोगाउन चाहेन। त्यस कारणले गर्दा संविधान सभा जोगिएन। त्यस कारणले गर्दा संविधान सभाले काम गर्न सकेन। म यो बारेमा धेरै लामो टिप्पणी गर्न चाहन्न। यो ठाउँको सचेत मतदाताहरुलाई एउटा एउटा कुरा थाहा छ। मैले मैले ती कुराहरुलाई दोहोर्याइराख्न आवश्यक छैन। तपाईहरुले प्रत्येक कुरा बुझ्नु भएको छ। संसार माध्यमबाट थाहा पाउनु भएको छ। संविधान सभा भित्रका प्रत्येक बहस र छलफललाई नजिकबाट हेर्नु भएको छ। त्यसैले म तपाईहरु सँग नेपाली कांग्रेसको तर्फबाट आग्रह गर्न चाहन्छु। हामी एक वर्ष भित्र संविधान बनाउने संकल्प गर्दै छौँ। म कांग्रेसको तर्फबाट यो क्षेत्रका निम्ति उमेदवार तपाईंले मलाई विजयी बनाएर संविधानसभा भित्र पठाउनु भयो। तर संविधान सभा भित्र कांग्रेस कमजोर भयो। कांग्रेसको उपस्थिति हिजो जस्तै कमजोर भयो। अनि हामी संविधान सभा भित्र पुग्यौँ। तपाईंको मतले केवल म मात्रै पुगे संविधान सभा भित्र रहे। अनि कांग्रेसले चाहेको जस्तो तपाईंले चाहेको जस्तो लोकतान्त्रिक संविधान लेख्ने अवस्था भएन भने मलाई क्षमा गर्नुहोला। मेरा हातका १० औंलाहरु कसैले काट्दिए पनि म त्यो अलोकतान्त्रिक संविधानमा हस्ताक्षर गरेर आउँदिन। लोकतन्त्र हाम्रो आस्थाको कुरा हो। हाम्रो आदर्शको कुरा हो। यो भन्दै गर्दा नेपाली कांग्रेस स्पष्ट छ। लोकतन्त्र भित्रका विकल्पहरुमा नेपाली कांग्रेस सबै सँग छलफल गर्न तयार छ। हामीले संविधानका सन्दर्भमा केही प्रस्तावहरु अगाडी सारेका छौँ। त्यो पार्टीको धारणा हो। त्यो पार्टीको पोजिसन हो। लोकतन्त्रमा कांग्रेसले कोही सँग सम्झौता गर्दैन। राष्ट्रियताको मुद्दामा नेपाली कांग्रेसले कोही सँग सम्झौता गर्दैन। तर लोकतन्त्र भित्रका विकल्पहरुमा हामी सबै सँग खुल्ला ढंगले बहस गर्न तयार छौँ। सबै सँग खुल्ला ढंगले छलफल गर्न तयार छौँ। नेपाली कांग्रेसलाई आरोप लाग्ने गरेको छ। कांग्रेसले सबै जात जातिहरुलाई सम्मान गर्न सकेन। कांग्रेसलाई आरोप लाग्ने गरेको छ। कांग्रेसले संघीयताको मुद्दालाई सहि ढंगले बोक्न सकेन। यो कुरा पनि नेपाली कांग्रेस स्पष्ट बनाउन चाहन्छु। संघीयता वरदान पनि होइन। संघीयता अभिषाप पनि होइन। संघीयता एउटा माध्यम हो। संघीयताको प्रयोग गर्न नसक्दा धेरै देशहरु समाप्त भएका छन्। संघीयताको सहि ढंगले प्रयोग गर्न सक्दा नेपाल जस्तो विविधता भएको धेरै देशका निम्ति त्यो वरदान पनि साबित भएको छ। नेपाली कांग्रेस संघीयताको सहि ढंगले उपयोग गर्न चाहन्छ। नेपाल जस्तो बहुजातीय बहुभाषिक बहु सांस्कृतिक देशमा नेपाल जस्तो विविध विविधताले भरिएको देशमा विविधताको व्यवस्थापन गर्ने त्यसको सम्बोधन गर्ने एउटा माध्यमका रुपमा नेपाली कांग्रेस संघीयताको प्रयोग गर्न चाहन्छ। आदरणीय साथीहरु नेपाली कांग्रेस तपाईहरुको बीचमा यो पनि राख्न चाहन्छ। नेपालका बारेमा कांग्रेसको स्पष्ट धारणा छ। तपाईंहरुलाई थाहा छ। तपाईंहरु हामीहरु जब कुनै पनि भोजमा जाने गर्छौं। हामी भोजमा लाम लागेर जब भोज भोज भट्टेरुमा जाँदै गर्दा हामी पुलाउ हाल्छौं दाल हाल्छौं तरकारी हाल्छौं माछा मासु जे खान्छौँ। हामीले हालिसके पश्चात अन्तिममा गएर हामी जहिले पनि सलादको प्लेटबाट सलाद लिने गर्छौँ। एकपटक सम्झौँ। त्यो सलादको प्लेट ठुलो एउटा रिकापीलाई प्लेटलाई तपाईंले एकपटक सम्झनुस्। त्यो सलादको प्लेटलाई तपाईं के भनेर जान्नुहुन्छ? सलाद भनेर जान्नुहुन्छ। त्यो सलाद भित्र के हुन्छ? सलाद भित्र काँक्रा गाजर मुला सबै कुराहरु हुन्छ। तर हामी कहिले पनि काँक्रा खान्छु गाजर खान्छु भनेर भन्दैनौँ। हामी सलाद खाने भनेर भन्छौँ। नेपाल भनेको त्यही सलादको प्लेट जस्तो हो। नेपाल सलादको प्लेट हो। हाम्रो परिचय भनेको त्यही सलाद हो। तर त्यो सलाद भित्र काँक्रा पनि छ। सलाद भित्र गाजर पनि छ। सलाद भित्र प्याज पनि छ। गाजरले काँक्राको स्वाद बिगारेको छैन। काँक्राले प्याजको स्वाद बिगारेको छैन। सबै एक अर्का सँग मिलेर बसेका छन्। हामी नेपाली भनेको हाम्रो पहिचान हाम्रो परिचय भनेको त्यही सलादको प्लेट जस्तो हो। अनि त्यो सलादको प्लेट भित्र रहेको काँक्रा गाजर भनेको हाम्रो भित्र मधेसी पनि छन्। पहाडी पनि छन्। हिमाली पनि छन्। जनै लाउने पनि छन् जनै नलाउने पनि छन्। फरक फरक धर्म मान्ने फरक फरक भाषा बोल्ने छन्। हामी त्यही सलादको प्लेट भित्र रहेका फरक फरक तत्वहरु जस्तै जसको आफ्नो फरक गुण छ, रंग छ, आकार छ, स्वरुप छ, हाम्रो पनि फरक फरक रंग गुण आकार स्वरुप छ। यही मंच भित्र हेर्नु भयो भने तपाई दशौ जातका मानिसहरु देख्नुहुन्छ। दशौ भाषा बोल्नेहरु देख्नुहुन्छ। नेपाल यस्तै विविधताले भरिएको छ र त्यो विविधताको उचित ढंगले व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरामा नेपाली कांग्रेस विश्वास गर्छ र यसकै आधारमा संविधानका धाराहरु लेख्न चाहन्छ। प्रश्न यहाँ संविधानको मात्र छैन। प्रश्न यहाँ सरकारको पनि छ। हामीले चार वर्ष खेर फालेका छौँ। नेपाली कांग्रेस यो चार वर्ष खेर फाल्न चाहँदैन। हामीले स्पष्ट सँग भनेका छौँ। यो चार वर्षका निम्ति हामी बहुमत माग्दै छौँ। चार वर्ष नेपाली कांग्रेसले सहि ढंगले सरकार चलाउन सकेन। तपाईंका विषयहरुलाई सम्बोधन गर्न सकेन। तपाईंको जीवनमा परिवर्तनको अनुभूति गराउन सकेन भने कांग्रेस पनि तयार छ। तयार रहनु पनि पर्छ। हामीले कांग्रेसका शीर्ष नेताहरुलाई भनेका छौँ। यो पटक देशैभरि जनलहर आएको छ। कांग्रेस प्रचण्ड बहुमतका साथ संसदमा जान्छ। तर कांग्रेसले यो हेक्का राख्नु पर्छ। जनता कसैको पनि जनता कसैको पनि भेडा होइन। जनता मालिक हो। जनता जनार्दन हो। जुन जनताले कांग्रेसलाई जिताएर सरकार बनाउन पठाउन सक्छ। जुन जनताले कांग्रेसलाई प्रचण्ड बहुमत दिन सक्छ। त्यही जनताले भुईमा पछाडेर कांग्रेसलाई धुलिसात पनि गर्न सक्छ। जनता सँग डराएर काम गर्नुपर्छ। ४८ सालमा बहुमत लिएर आयौँ। बहुमत ठेक्न सकेनौँ। ५१ सालमा दण्ड बेहोर्न पर्यो। ५१ सालमा एमालेले आफ्नो बहुमत ठेक्न सकेन। यही जनता हो जसले एमालेलाई दण्ड दियो। कांग्रेसलाई पुरस्कार दियो। अरुलाई हेर्यौँ। पटक पटक हामीलाई हेरौँ एक पटक भनेर आएको माओवादीलाई पटक पटक हामीले हेर्यौँ। हेर्यौँ माओवादीको फरक फरक रंग रुप आकार सबै कुरा हेर्यौँ। स्वाद थाहा पायौँ र यो पटक फेरी पुरस्कार पाउने पालो कांग्रेसको हो। पुरस्कार ठेक्न सक्यो। कांग्रेसले फेरी पुरस्कार पाउँछ। पुरस्कारको मान राख्न सकेन। फेरी दण्ड पाउँछ। यो चक्र यसै गरीकन घुम्छ। त्यसैले नेपाली कांग्रेस तपाईहरुका बीचमा डरका साथमा, चिन्ताका साथमा, समर्पण र संकल्पका साथमा उभिन चाहन्छ र भन्छ। चार वर्ष तपाईहरुको बहुमत लिएर सरकार चलाउँदै गर्दा तपाईंको चित्त बुझाउन सकेनौँ भने चार वर्ष पछिको निर्वाचनमा तपाईंले दिने दण्ड बेहोर्न नेपाली कांग्रेस तयार छ। आदरणीय साथीहरु संविधान सभाले संविधान बनाओस्। सरकारबाट केही पूर्वाधारहरु निर्माण गरौँ। तर यो सँग सँगै एउटा नयाँ दृष्टिकोणका साथमा हामी अगाडी बढ्नु पर्छ भन्ने म ठान्दछु। एउटा नयाँ दृष्टिकोण नेपाललाई चाहिएको छ। हामीले नेपाललाई समस्यै समस्याको नेपाल भनेर भन्यौँ। नेपाल समस्याको नेपाल होइन। नेपाल सम्भावनाको नेपाल हो। हामी जहिले पनि नेपालको सम्भावनाको कुरा गरिरहँदा तपाईंहरुले सुन्नुहुन्छ। कुनै पनि छलफलमा नेपालको सम्भावना छ भनेर भन्दै गर्दा सम्भावना केमा देखिस् भनेर प्रश्न गर्दै गर्दा हामी भन्छौँ जलश्रोतमा देख्यौँ। पर्यटनमा देख्यौँ। यसमा देख्यौँ। यसमा देख्यौँ भनेर भन्छौँ। तर म भन्छु सम्भावना जलश्रोत र पर्यटनमा होइन। सम्भावना नेपालीहरुमा छ। सम्भावना नेपालका तन्नेरीहरुमा छ। सम्भावना तपाईंमा छ। सम्भावना प्रत्येक नेपाली युवकसँग, प्रत्येक नेपाली नागरिक भित्र त्यो सम्भावना निहित छ। सिराको दुर्गम गाउँबाट एउटा १८ वर्षको केटो, १८ वर्षको केटो वा केटी जसले कुनै बेला सिराको लहन समेत देखेको छैन। एकैपटक रात्रि बस चढेर काठमाडौं आइपुग्छ। काठमाडौं आइसके पश्चात एक रात बागबजारको लजमा बस्छ। अनि सिधै अन्तराष्ट्रिय विमानस्थल जान्छ। एउटा म्यानपावरले दिएको रातो टोपी लगाएर प्लेन चढ्छ। प्लेनको बाथरूम के हो? प्लेनको ढोका के हो भनेर थाहा नपाईकन कतारको दोहामा उत्रन्छ। सिधा एउटा काम गर्ने ठाउँमा जान्छ। १८ घण्टा काम गर्छ। फकत १७-१८ हजार रुपैयाँ कमाउँछ। त्यही १७-१८ हजार रुपैयाँको आधारमा आफ्नो सपनालाई पूरा गर्न चाहन्छ। मेरो आफ्नो विश्वास त्यो १८ घण्टा श्रम गर्ने त्यो युवक माथिको विश्वास हो। किनकि ऊ तयार छ। आफ्नो जीवनमा प्रगति गर्नका निम्ति, आफ्नो जीवनमा परिवर्तन ल्याउनका निम्ति ऊ कसैको प्रतिक्षामा बस्न चाहँदैन। ऊ कसैको आश्वसनमा भर पर्न चाहँदैन। उसले संकल्प गरेको छ। मेरो जीवनमा परिवर्तन आउँछ। त्यो परिवर्तन अरु कसैले ल्याउने होइन। त्यो परिवर्तन म आफैले ल्याउनु पर्ने भनेर ठानेको छु। म काठमाडौँका त्यस्ता सयौँ युवकहरु चिन्छु। जसलाई अलिकति मात्र मद्दत गर्ने हो भने जसलाई अलिकति मात्र उत्साहित गर्दिने हो भने जसलाई अलिकति मात्र बल पुर्याइदिने हो भने १८ घण्टा श्रम गर्ने त्यस्ता सयौँ युवकहरुलाई रोजगारी दिन सक्ने त्यस्ता हजारौँ युवकलाई रोजगारी दिन सक्ने हजारौँ युवक तपाईं यही आज मेरो सभामा हाम्रो सभामा आउनुभएका सयौँ त्यस्ता हजारौँ साथीहरु यही सभामा आउनुभएको छ जसलाई अलिकति मात्र बल पुर्याउने हो भने तपाईंले रोजगारी सिर्जना गर्न सक्नुहुन्छ। यस्ता युवक साथीहरु हाम्रो बीचमा हुनुहुन्छ। तर यी सबै कुरालाई हामी किन जोड्न सकिरहेका छैनौँ? किनकि हाम्रो बुझाई गलत छ। हामी गलत ढंगले हाम्रो राजनीतिलाई अगाडि बढाइरहेका छौँ। म अहिले पनि सम्झन्छु। संविधानसभामा बहस हुँदै गर्दा मैले एकपटक पुष्पकमल दाहालजी अगाडि भएको बेलामा एउटा घटना उहाँलाई सुनाएको थिएँ। तपाईंहरुलाई थाहा छ। केही वर्ष अगाडि जाजरकोटमा हैजाको ठूलो प्रकोप भयो। जाजरकोटमा हैजाको प्रकोप भइसके पश्चात त्यहाँ एकजना पत्रकार साथीले जुन गाउँमा हैजाको प्रकोप भयो। त्यो गाउँको एकजना स्थानीय राजनीतिकर्मी जो माओवादी सँग आबद्ध हुनुहुन्थ्यो। उहाँलाई गएर सोध्नु भयो। तपाईंको जाजरकोटमा हैजा लागेर यत्र सयों मानिसहरुको मृत्यु कसरी भयो? जाजरकोटको नेताले पत्रकारलाई उत्तर दिनु भयो र भन्नु भयो जब सम्म नेपाल साम्राज्यवादी र विस्तारवादीबाट मुक्त हुँदैन तब सम्म हाम्रो जाजरकोट हैजाबाट मुक्त हुँदैन। अनि मैले पुष्पकमल दाहालजीलाई भने तपाईंले आवाज नभएकोलाई आवाज दिनु भयो ठिक गर्नु भयो। जाजरकोटको त्यो साथीलाई मुट्ठी कसेर साम्राज्यवादी विस्तारवादका विरुद्धमा बोल्न सिकाउनु भयो त्यो पनि ठिक गर्नु भयो। तर कमरेड एउटा कुरा नबिर्सौँ। समाज उत्तेजनाले बदलिनन। समाज चेतनाले बदलिन्छ। त्यो मुट्ठी कसेर त्यो मुट्ठी कसेर साम्राज्यवाद र विस्तारवादका विरुद्धमा बोल्न उठेको त्यो मेरो साथीलाई त्यो गाउँको त्यो राजनीतिकर्मीलाई खाना खानु भन्दा अगाडि हात धुनुपर्छ। पानी उमालेर पिउनु पर्छ भन्ने सिकाएको भए साम्राज्यवादी र विस्तारवादसँग लड्न सकिन्थ्यो होला। तर हैजाबाट कम्तीमा नि ३०० जना साथीलाई जोगाउन सकिन्थ्यो होला भनेर सम्झाएको त्यो स्मरण गराएको त्यो घटना म अहिले पनि सम्झन्छु। त्यति मात्रै होइन म अर्को घटना पनि सम्झन्छु।
[27:10]कुनै बेला नेकपा एमालेका नेता म स्वर्गीय मनमोहन अधिकारी जो अत्यन्त सम्मानित नेता हुनुहुन्छ। स्वर्गीय मनमोहन अधिकारीले नेपालको एक जना वरिष्ठ पत्रकारलाई अन्तर्वार्ता दिँदै गर्दा एउटा कुरा भन्नु भएको थियो।
[27:31]वरिष्ठ पत्रकारले सोध्नु भयो मनमोहन अधिकारीलाई ४८ साल पछिको नेपाली कांग्रेसको सरकार हुँदै गर्दाको प्रसंग हो। मनमोहन अधिकारीलाई प्रश्न गरियो कमरेड नेपाली कांग्रेसका विरुद्धमा तपाईंको पार्टीले देशैभरि कांग्रेसका विरुद्धमा एउटा अभियान छेडेको थियो। कांग्रेसले नदीनाला बेच्यो। भारत परस्त भयो। त्यस कारणले गर्दा कांग्रेसको विरोध गरौं भन्ने अभियान देशैभरि छेडेको थियो। यो अभियान एक महिना अभियानबाट नेपाली कांग्रेस कति कमजोर भयो। नेपालको राष्ट्रियतालाई कति फाइदा भयो भनेर सोधेको प्रश्नमा मनमोहन अधिकारीले भन्नु भएको थियो। हाम्रा पार्टीका कमरेडहरुले मकै र भट्ट खाएर देशैभरिका एउटा पनि भित्ता छोड्नु भएन। प्रत्येक भित्तामा कांग्रेस मुर्दावाद भनेर लेख्नु भयो। तर हामीले पछि मात्र थाहा पायौँ। लेख्न त लेखियो। तर नेपालमा त्यो बेलामा रंग उत्पादन गर्ने कुनै पनि कम्पनी नभएकोले हाम्रो पार्टीले रंग किन्नका लागि डेढ करोड रुपैयाँ भारतको कम्पनीलाई बुझाउनु पर्यो भनेर लेख्नु भएको कुरा स्मरण गराउन चाहन्छु आदरणीय साथीहरु। मैले भन्न खोजेको कुरा यति मात्रै हो। समाजलाई हामीले उत्तेजनाबाट परिवर्तन गर्न खोज्यौँ। उत्तेजनाबाट कुनै पनि समाज परिवर्तन हुँदैनथ्यो। हामीले कहिले पनि व्यक्तिको क्षमतामा विश्वास गरेनौँ। हामीले कि कुनै समूह संस्थाले गर्दिन्छ भनेर विश्वास गर्यौँ। कि कुनै पार्टीले गर्दिन्छ भनेर विश्वास गर्यौँ। हामीले श्रम बिना ज्याला खोज्यौँ। लगानी बिना प्रतिफल खोज्यौँ। हामीले गरिबीलाई बेच्यौँ। गरिबीको कथा र कविता भन्दै गर्दा हामी रोमांचित भयौँ। हामी गरिब नै रहन चाह्यौँ। हामी गाउँकै रहन चाह्यौँ। हामी दरिद्र र कंगाल नै रहन चाह्यौँ। हामीले नयाँ कुराको खोजी गरेनौँ। त्यस कारणले गर्दा पछाडी पर्यौँ। आदरणीय साथीहरु हामी विकासको हामी सबैको आकांक्षा छ। हामी प्रत्येक विकसित नेपालको नागरिक हुन चाहन्छौँ। तर तपाईहरु सबैलाई थाहा छ। नेपालमा विकासका निम्ति आज हामी सँग श्रम छ। शक्ति छ। नभएको होइन। छैन भने केवल पुँजी मात्र छैन। एक रुपैयाँ पुँजी बनाउनका निम्ति चार रुपैयाँ ९० पैसा लगानी गर्नुपर्छ। चार रुपैयाँ ९० पैसा लगानी गर्यो भने एक रुपैयाँ पुँजी बन्छ। तपाईंको विकासको आकांक्षा पुरा गर्नका निम्ति करोडौँ रुपैयाँ चाहिन्छ। तपाईंको खल्ती मेरो खल्ती सबै टकटकाएर एक ठाउँमा जम्मा गरे पनि त्यो करोडौँ रुपैयाँ जम्मा हुँदैन। हामीसँग विकासको आकांक्षा छ। हामीसँग काम गर्ने हातहरु छ। सोच्ने मस्तिष्क छ। तर त्यो पुँजी हामी सँग छैन। के त्यसो भए नेपालले त्यो पुँजी कहिले पनि प्राप्त गर्दैन? गर्छ। कहाँबाट गर्छ? संसारभरि उडेर बसिरहेको छ। त्यो नेपाल आउन चाहन्छ। नेपाल भित्रिन चाहन्छ। तर नेपाल आउँदैन। यसको प्रमाण छ। १८२ वटा देशहरुको पछिल्लो अध्ययनले देखाउँछ। १८२ वटा देश जसले विदेशबाट लगानी लिएर आएका छन्। ती देशहरु मध्ये नेपाल कहाँ पर्छ भनेर खोज्दै गर्दा हेर्दै गर्दा एक नम्बर दुई नम्बर तीन नम्बर चार नम्बर पाँच नम्बर कहाँ पर्छ भनेर एक पटक खोजी हेरेँ। अगाडीबाट एक दुई तीन चार पाँच कहिँ पनि होइन। तर पछाडीबाट गन्यो भने नेपाल जहिले पनि पाँच नम्बरमा पर्छ। संसारभरि लगानी गर्न चाहनेहरुले लगानी गर्न गर्नै नहुने देश मध्ये कुन देश भनेर खोज्यो भने हाम्रो नेपाल जहिले पनि पुछारको पाँच नम्बरमा पर्छ। कोसँग डराएको? तपाईंसँग डराएको होइन। म सँग डराएको होइन। हामीसँग डराएको भए हाम्रै साथीहरुलाई काम गर्न लिएर जाने प्रतिस्पर्धा किन चल्थ्यो? किन कतारीलाई नेपाली चाहियो? किन मलेशिया बनाउन नेपाल चाहियो? किन हङकङका हङकङका पहाडहरु फोरेर हङकङको समुद्रमा ढुंगा भरेर महल बनाउन किन नेपाली चाहियो? कोरियाका उद्योग कल कारखानाले किन नेपाली चाहियो? भारतका गलीहरुमा काम गर्न किन नेपाली चाहियो? नेपाली सँग क्षमता नभएको भए सबै नेपाली किन खोज्थे? क्षमता तपाईं सँग नभएको होइन।
[32:25]क्षमता हाम्रो राजनीतिले त्यो क्षमता राख्न सकेन। हाम्रो राजनीतिले त्यो बाटो देखाउन सकेन। हामीले सहि ढंगले नेपाललाई नेतृत्व दिन सकेनौँ। किनकि हामी जहिले पनि यसैमा रम्यौँ। त्यसैले आदरणीय साथीहरु म तपाईं सँग आग्रह गर्न चाहन्छु। यो बाटोबाट नेपाललाई बाहिर निकाल्नुस्। हामी सँग प्रचूर सम्भावनाको कुरा हामी गरिरहेका छौँ। तर त्यो प्रचूर सम्भावना आफै व्यवहारमा बदलिँदैन। त्यो आफै अनुवाद हुँदैन। त्यसका निम्ति हाम्रो प्रयत्न चाहिन्छ। हाम्रो प्रयत्नका निम्ति अवसर चाहिन्छ। संविधान बनाऔँ। कानूनको शासनलाई सुनिश्चित गरौँ। हाम्रा कतिपय नियम कानून बदल्नु पर्ने भए बदलौँ। अनि त्यसपछि विश्वास गरौँ। प्रत्येक नेपाली सँग क्षमता छ। प्रत्येक नेपाली गरि खान चाहन्छ भनेर विश्वास गरौँ। त्यति मात्रै गर्न सक्ने हो भने धेरै कुरा बदल्न सकिन्छ। हाम्रा वरिपरिका कुराहरु फेर्न सकिन्छ। हाम्रो आफ्नै जीवनकालमा नेपाललाई नयाँ ढंगले लिएर जान सकिन्छ। यो मेरो विश्वास हो। यो मेरो विश्वासको आधार भनेको तपाईं हो। यो मेरो विश्वासको आधार भनेको तपाईं सँग लामो समयदेखि काम गर्दै गर्दा मैले गरेको अनुभव हो। म देख्दछु। हजारौँ साथीहरु मेरो एउटा आह्वानमा म जस्तो एउटा सामान्य मान्छेले गरेको आह्वानमा हजारौँ साथीहरु अहिले नेपाल बाहिर जान चाहेका साथीहरु नेपाल बाहिर जान छोडेर यही नेपाल भित्र बसेर एउटा सामान्य कृषिको पेशा गरेर बस्नका निम्ति उद्यत भएर काम गरिरहेका छन् र तिनले हजारौँ हजार रोजगारी सिर्जना गरेका छन्। हामी जस्तै केही साथीहरुको आह्वानमा दशौँ वर्ष आफ्नो घर परिवारले सम्पत्ति खर्च गरेर पढाएका साथीहरु अहिले दुर्गमका विद्यालयहरु भित्र गएर दुई वर्ष तीन वर्ष घर परिवार सबै कुरा छोडेर पढाउन गएका छन्। हाम्रो साथीहरु काम गर्न तयार नभएका होइनन्। हाम्रो साथीहरु सँग क्षमता नभएको होइन। तर त्यो क्षमताको प्रयोग हामी गर्न सकिरहेका छैनौँ। त्यसैले म तपाईं सँग आग्रह गर्न चाहन्छु। म यसका बारेमा लामो कुरा भन्न चाहन्न। म तपाईंहरुको बीचमा आएको छु। तपाईंहरु सँग बसेर मेरा कुराहरु राखेको छु। तपाईंहरुको कुरा सुनेको छु। यी विषयहरुमा लगातार काम गर्न चाहन्छु। संविधान सभा भित्र गएर नेपाली कांग्रेसलाई प्रभावकारी ढंगले कांग्रेसको तर्फबाट कांग्रेसको पक्षबाट संविधान निर्माण गर्ने गरी संविधान एक वर्ष भित्र गर्ने गरीकन यसलाई टुंग्याउन चाहन्छु। किनकि संविधानको विषय टुंग्याइएन भने अघि मैले तपाईंको बीचमा राखेको जति कुरा राखे पनि त्यो विषयमा नेपाल प्रवेश गर्न सक्दैन। त्यसैले संविधान निर्माणको कुरालाई टुंग्याउन चाहन्छु। संसद भित्र गएर संसदलाई प्रभावकारी ढंगबाट जनताको पक्षमा काम गर्ने बनाउन चाहन्छु। नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारलाई जनताको पक्षमा काम गर्ने बनाउन चाहन्छु। त्यति मात्र होइन मैले तपाईंको बीचमा यो क्षेत्रको साथीहरुको विकास निर्माणको सन्दर्भमा अतिरिक्त संसद कार्यालयको प्रस्ताव गरेको छु। त्यो अतिरिक्त संसद कार्यालयमा तपाईंहरुको बीचमा रहेर यो यो क्षेत्रलाई नेपालको नमुना क्षेत्र बनाउन चाहन्छु। मैले आजै मात्र तपाईंहरुको बीचमा काठमाडौं घोषणा पत्र जारी गरेको छु। यो काठमाडौं घोषणा पत्र तपाईं सँग जोडिएको छ। म सँग जोडिएको छ। काठमाडौँको एउटा सांसदले केवल आफ्नो क्षेत्र हेरेर मात्र हुँदैन। हाम्रा समस्याहरु काठमाडौँका साझा समस्या छन्। यो काठमाडौँ भनेको केवल काठमाडौँ जिल्ला मात्र होइन। म उपत्यकाको बारेमा कुरा गर्दै छु। भक्तपुरको ललितपुरको काठमाडौँको दिगो विकासका सन्दर्भमा धेरै युवा साथीहरु सँग मिलेर एउटा गुरु योजना बनाएको छु। यो योजना तपाईंहरु सँग मिलेर काम गर्न चाहन्छु। तर यो सबैका निम्ति तपाईंको सहयोगको लागि अनुरोध गर्छु र एउटा विश्वास व्यक्त गर्न चाहन्छु। मेरो धेरै लामो कुराहरु छैन। म आजको दिनमा अरु दलहरुका बारेमा धेरै टिप्पणी गर्न पनि चाहन्न। म आजको दिनमा मेरै बारेमा केही कुराहरु राख्न पनि चाहन्न। किनकि म मेरो जीवन खुल्ला किताब जस्तो छ। तपाईंले यसलाई पटक पटक पल्टाएर पढ्नु भएको छ। फेरी आवश्यकता पर्यो भने फेरी पल्टाएर पढ्नु हुन्छ। म भित्र गल्ती र कमजोरीहरु छैनन्। म भन्दिन। संविधान सभा भित्र हिजो सबै ठिक काम मात्र गर्यौँ त्यो पनि म भन्दिन। संविधान सभा भित्र चाहेर पनि कति काम गर्न सकेनौँ। कति कामहरु जाने कति कामहरु नजानेर गरेनौँ। कति कामहरु कति कामहरु नजानेको कारणले गर्दा गल्तीहरु पनि गर्यौँ होला। ती गल्तीहरुका बारेमा तपाईंहरु सँग क्षमा माग्न चाहन्छु। तपाईंहरुबाट सिक्दै आफ्नो गल्तीहरुलाई सच्याउन चाहन्छु। तपाईंहरुको मार्गदर्शन चाहन्छु। तपाईंहरुको शुभेच्छा चाहन्छु। एउटा सपना बोकेर राजनीतिमा आएको हुँ। पोखरी फोर देखिसके पछाडि दिलमा बसेर फोर भयो भनेर हुँदैन। पोखरीमा हाम्फालेर फोर आफै सफा गर्ने कोशिश गर्नुपर्छ भन्ने ठाने पोखरीमा हाम्फालेँ। त्यसलाई सफा गर्ने प्रयास गरिरहेको छु। नेपाली कांग्रेस भित्र काम गरिरहेको छु। कांग्रेस भित्रै पनि लडिरहेको छु। नेपाली कांग्रेसलाई २०४७ सालको जस्तो क्रान्तिकारी, १५ सालको जस्तो प्रगतिशील बनाउनु पर्छ भनेर कांग्रेस भित्रै पनि लडिरहेको छु। यो लडाइँमा म तपाईंको साथ चाहन्छु। यो लडाइँमा म तपाईंको शुभेच्छा चाहन्छु। यो लडाइँमा म तपाईंको मार्गदर्शन चाहन्छु। म यो ठाउँबाट उभिएर निर्वाचनको प्रचार प्रसारको क्रममा अरु दलका साथीहरुले भन्नु भएको कुराहरुका बारेमा केवल एउटा दुईटा टिप्पणी गर्नै पर्ने भएकोले म त्यति मात्रै भन्न चाहन्छु। मसँग प्रतिस्पर्धा गर्दै गर्नुभएको साथीहरुले मेरो बारेमा एउटा कुरा पटक पटक भन्नु भएको रहेछ। मैले सुने। संविधान सभामा काम गरेर आइसकेको टेस्टेड मान्छे हो। संविधान सभा भित्र काम गरेर आइसकेका मानिसहरु असफल हुन्। त्यस कारणले गर्दा हामीलाई मत दिनुपर्छ भनेर भन्नु भएको रहेछ। म एमालेबाट आउनु भएको साथी, माओवादीबाट आउनु भएको साथी सबैलाई सम्मान गर्दै आग्रह गर्न चाहन्छु र एउटा प्रस्ताव तपाईंहरुको बीचमा राख्न चाहन्छु। तपाईं म सँग कीर्तिपुरको १० नम्बर क्षेत्रमा अहिले पनि सभा चलिरहेको छ। म यो ठाउँबाट कीर्तिपुर अहिले यहाँबाट कीर्तिपुर जानुपर्ने छ। त्यो कीर्तिपुरको सभामा मसँग गएर यो भन्दा अघिल्लो पटक प्रधानमन्त्री बनिसक्नु भएको पुष्पकमल दाहाल निर्वाचन लड्दै हुनुहुन्छ। म भन्दा बढी टेस्टेड भइसक्नु भएको पुष्पकमल दाहाललाई होइन। कांग्रेसको उमेदवारलाई मत दिनुपर्छ भनेर माग्न तयार हुनुहुन्छ भने म निर्वाचनको मैदान तपाईंको लागि छोड्न तयार छु। यो ठाउँबाट म अर्को प्रस्ताव राख्न चाहन्छु। यो भन्दा अलिकति पर दुई नम्बर क्षेत्रमा दुई ठाउँमा निर्वाचन हारेर पनि प्रधानमन्त्री हुनु भएको माधव नेपाल निर्वाचन लड्दै हुनुहुन्छ। माधव नेपाल धेरै पटक टेस्टेड भइसक्नु भयो। माधव नेपालको मैदानमा हाम्रै चेली प्रतिमा गौतम लडि राख्नु भएको छ। त्यो ठाउँमा उभिएर टेस्टेड माधव नेपाललाई होइन। प्रतिमा गौतमलाई मत दिन मत दिनुपर्छ भनेर कोही बोल्न तयार हुनुहुन्छ भने म निर्वाचनको मैदान छोड्न तयार छु। त्यसैले आदरणीय साथीहरु म तपाईहरुको बीचमा यति मात्र राख्न चाहन्छु।
[41:17]यो ठाउँमा उभिएर हिजो मात्रै एकजना नेताले भन्नु भएको छ। हाम्रा पार्टीका साथीहरु क्रान्तिकारी हुन्। अरु पार्टीका साथीहरु कायर हुन् भनेर भन्नु भएको छ। म यति कुरा मात्र स्मरण गराउन चाहन्छु। यो ठाउँ यही सिफलको चौरो। त्यही नजिकै धर्मभक्त माथेमामा हाम्रा निम्ति धर्मभक्त माथेमाले साधुत्व प्राप्त गरेको ठाउँ यहाँबाट धेरै पर छैन। कमरेडलाई ती कुरा मात्र म भन्न चाहन्छु। हामी क्रान्तिकारी हो कि कायर हो? समाजले छुट्ट्याउँछ। हामी हाम्रो आफ्नो विश्वासका निम्ति कसैको जीवन लिन सक्दैनौँ। कसैलाई मार्न सक्दैनौँ। तर हाम्रो आफ्नो विश्वास र आस्थाका निम्ति सयौं पटक धर्मभक्त माथेमा जस्तो झुण्डिएर मर्न तयार छौँ। छातीमा गोली थापेर मर्न चाहन्छौँ। यो हाम्रो संकल्प हो। मेरो आमा यही कार्यक्रममा आउनु भएको छ। मैले यो भन्दा अघिल्लो संविधान सभाको निर्वाचनमा जाँदै गर्दा होला। वा हिजो कमल थापाले हाम्रो सडकमा सेनाको ट्यांकमा चढेर कोही कहाँ छन् यी भूराहरु त्यसलाई भुटछु भनेर भन्दै गर्दा होला। ट्यांकको अगाडि बसेर छाती थाप्दै भन्दै गर्दा राजाका विरुद्धमा बोल्दै गर्दा घरबाट निस्केर हिँड्दै गर्दा होला। मैले सधैँ मेरो आमालाई भनेर हिँडेको थिएँ। आमा रुनुहुन्छ, कराउनुहुन्छ, दुःख मान्नुहुन्छ। अहिले पनि केही होला भनेर भन्दै हुनुहुन्थ्यो। मैले आमालाई भनेको छु चिन्ता नगर्नुहोला। देशैभरि तपाईहरु जस्ता हजारौँ आमाहरु हुनुहुन्छ। कहिँ कसैको गोली लागेर ढल्यो भने पनि मेरो शिर भुईँमा खस्दैन। कुनै न कुनै आमाको काख मैले पाउँछु भनेर हिँडेको छु। यो मेरो विश्वास हो।
[43:38]यदि यो कसैले कायर त भन्छ भने यो कायरता होइन। यो क्रान्तिकारिता भनेको यही हो। आफ्नो विश्वासका निम्ति जीवन लिने त्यो क्रान्तिकारिता होइन। त्यो कायरता हो। आफ्नो विश्वास र आस्थाका निम्ति मर्न तयार हुने यो क्रान्तिकारिता हो र यो मंचमा आउनु भएका प्रत्येक साथी मेरो क्रान्तिकारी साथीहरु हो। म तपाईहरु सबैलाई अभिवादन गर्न चाहन्छु। त्यसैले आदरणीय साथीहरु यो बेला हो। यो समय हो। यो घडी हो। हामीले केवल संविधान सभाको निर्वाचनमा यो क्षेत्र एउटा मौका पाएर आएको छ। यो एउटा घडी यस्तो अवसर हामीले प्राप्त गरेका छौँ यो घडीमा कि यो बेलामा यो क्षेत्रबाट हामी सिंगो नेपाललाई एउटा सन्देश प्रभावित गर्ने एउटा मौका लिएर उभिएका छौँ। यहाँ संविधान सभाको मात्र फैसला हुँदै छैन। यहाँ कांग्रेस जित्ने कि हार्ने भन्ने मात्र फैसला हुँदै छैन। यहाँ नेपाली माटोमा भएको त्यो नरसंहार सहि थियो कि गलत थियो भन्ने फैसला गर्ने जिम्मेवारी आज काठमाडौँको चार नम्बरले पाएको छ। यो फैसला हामीले गर्ने कि नगर्ने। यो फैसला सहि ढंगले गर्न सकेनौँ भने नेपालमा फेरी त्यो युद्ध दोहोरिन्छ। युद्धका नायकहरु फेरीएलान। युद्धका सरदारहरु फेरीएलान। तर युद्ध यो माटोमा फेरी दोहोरिन्छ। किनकि जबसम्म युद्धलाई महिमा मण्डित गरिन्छ। त्यो युद्धलाई सबैभन्दा युद्धलाई गौरव गाथा हो भनेर गाउँदै हिडिन्छ। जबसम्म व्यक्तिको हत्याको त्यो श्रृंखला सहि थियो भनेर भनिन्छ तबसम्म समाज नयाँ मूल्यको आधारमा यो समाज अगाडी बढ्न सक्दैन। त्यसैले यो भन्नै बेला आएको छ। मेरो विश्वास यो क्षेत्रका चार नम्बरका मतदाताहरु प्रति छ। यो क्षेत्रको चार नम्बरका मतदाताहरुले यो पटक न्याय गर्नु छ। देकेन्द्र थापाको त्यो ६८ वर्षको रुँदै गरेको आमामाथि न्याय गर्नु छ। टाउकोको मोल तोक्नेहरु भनेर हिजो गाली गर्नु भयो। यही मंचबाट म तपाईहरुलाई भन्न चाहन्छु। तपाईंले न्याय गर्नुपर्ने छ। हजारौँ नेपालीहरु मारिए मारिए। ती कुनै पनि नेपालीको टाउकोको मोल कसैले पनि थाहा नपाईकन ती मारिएका छन्। तिनको पक्षमा न्याय गर्नु छ। माओवादी भएर पनि साथीहरु मारिएका छन्। सयौँ लडाकूहरु अहिले पनि सडकमा भेटिन्छन् जसले आधा एक आधा काटिएको चेक बोकेर बसेका छन्। तिनलाई पनि न्याय गर्नु छ। माओवादीका नाममा मान्छे मारिए। सेना र प्रहरी मारिए, कांग्रेस मारियो, एमाले मारियो। त्यो सबै मारिएको कुरा गलत थियो। जसले जसलाई मारे पनि त्यो गलत थियो। त्यो मारिएको कुराको हत्याका विरुद्धमा उभिनु छ। सद्भावका पक्षमा उभिनु छ। शान्तिको पक्षमा उभिनु छ र यो पटक क्षेत्र नम्बर चारले यो जिम्मेवारी निर्वाह गर्छ भन्ने विश्वास तपाईंहरुको बीचमा राख्न चाहन्छु आदरणीय साथीहरु। मंसिर चार गते आउन धेरै दिन बाँकी छैन। मेरो अन्तिममा तपाईंहरुसँग यही आग्रह छ। जम्मा थोरै दिन मात्रै बाँकी छ। आज एक दिन हो। दुई गते र तीन गते मात्र बाँकी छ। चार गते आउनलाई अझै केही दिन मात्रै बाँकी भएपनि मैले केही सूचनाहरु पाएको छु। तपाईं आफू तपाईंले पनि थुप्रै कुराहरु थाहा पाइसक्नु भएको छ। सबैभन्दा बढी षड्यन्त्र यही दुई दिनमा यही दुई दिन भित्र उमेदवारको चरित्र हत्या गर्ने कुरा देखि लिएर अनेकन खालका षड्यन्त्रका ताना र ताना बुनाहरु अगाडी सर्छ। तर मलाई विश्वास यो यो ठाउँको सचेत मतदाताहरुले ती हाम्रा बीचमा गर्न खोजिने प्रत्येक षड्यन्त्रलाई तपाईंले बुझ्नुहुन्छ। ती प्रत्येक षड्यन्त्रलाई तपाईंले छिर्नुहुन्छ र मंसिर चार गते सवेरै तपाईंहरु आआफ्नो मतदान केन्द्रमा गएर मत हाल्नुहुन्छ। तर मत हाल्दै गर्दा तपाईंहरु सँग मेरो अन्तिममा एउटै मात्रै आग्रह छ। यो निर्वाचनमा नेपाली कांग्रेसको उमेदवार भएर म निर्वाचित भएर गएँ। तपाईंले मलाई मतदान गरेर निर्वाचित भएर पठाउनु भयो।
[48:51]तर यो यो निर्वाचनमा नेपाली कांग्रेस यो क्षेत्रबाट पराजित भयो भने त्यो विजयको अर्थ रहँदैन। त्यसैले म तपाईं सँग आग्रह गर्न चाहन्छु। हामीले हाम्रो क्षेत्रबाट तीन जना साथीहरुलाई उमेदवारको रुपमा प्रस्तुत गरेका छौँ। तीनै जना साथीहरु आआफ्नो ठाउँको आआफ्नो क्षेत्रको प्रतिभाशाली छात्रहरु हुन्। प्रतिभाशाली नेताहरु हुन्। दिव्यमणि राजभण्डारी हुनुहुन्छ। राजा गले हुनुहुन्छ। राजु श्रेष्ठ हुनुहुन्छ। तिनै जना साथीहरु नेपाली कांग्रेसको तर्फबाट उमेदवार हुनुभएका साथीहरु यो ठाउँबाट नेपाली कांग्रेस विजयी भयो भने हामीले एक जना मात्रै होइन।
[49:42]चार जना सांसद पाउँछौँ। चार जना संविधान सभाको सदस्य पाउँछौँ। हाम्रो अझै सहि ढंगले प्रतिनिधित्व संविधान सभा भित्र हुन सक्छ। संसद भित्र रहन सक्छ। त्यसैले नेपाली कांग्रेसको उमेदवारलाई प्रत्यक्ष तर्फ मात्रै होइन। नेपाली कांग्रेस सिंगो पार्टीलाई नै यो निर्वाचनमा विजयी गराउन तपाईंलाई म आग्रह गर्न चाहन्छु। कांग्रेसको विजयले मात्रै मेरो विजयलाई सुनिश्चित बनाउँछ। त्यसैले तपाईंले म प्रति राख्ने सद्भाव, तपाईंले म प्रति देखाउनु भएको स्नेह दुइटै मतपत्रमा नेपाली कांग्रेसको रुख चिन्हमा छाप लगाउनु भयो भने त्यो स्नेहले मलाई बल्यो बनाउँछ। त्यो सद्भावले मलाई बल्यो बनाउँछ। यसका निम्ति म नेपाली कांग्रेसलाई अत्यधिक मतले विजयी गराउन आग्रह गर्दै सबै साथीहरुलाई १ गते प्रचार प्रसार सकियो। तर प्रचार प्रसार सकिए पनि औपचारिक प्रचार प्रसार गर्न नपाए तापनि यति अँध्यारो सम्म तपाईंहरु बस्नु भएको छ। अब जम्मा दुई दिन बाँकी छ। दुई र तीन गते सचेत भएर बस्नुहोला। सतर्क भएर बस्नुहोला। ४८ घण्टा राम्रो सँग बिताइदिनु भयो। चार गतेलाई राम्रो सँग स्वागत गर्नु भयो भने मैले तपाईंहरुको बीचमा उभिएर शपथ खाएको छु।
[51:17]मंसिर चार गते सम्म खट्ने पालो तपाईंको। चार गतेपछि चार वर्ष खट्ने पालो मेरो। मतदाुका निम्ति चार वर्षसम्म खट्ने पालो नेपाली कांग्रेसको। यो जिम्मेवारी नेपाली कांग्रेसले तपाईंहरुलाई दिनुहुन्छ भन्ने विश्वास व्यक्त गर्दै तपाईंहरुको बीचबाट मंसिर चार गते निर्वाचनको दिनमा तपाईंको मतदान केन्द्रमा भेटौँला भन्ने आफ्नो विश्वास व्यक्त गर्दै यहाँ बीचबाट बिदा हुन चाहन्छु। धन्यवाद नमस्कार जय नेपाल।



